काठमाडौं— वैशाखदेखि असारसम्मको तीन महिनामा देशभर २ हजार ६५ विपद्‌जन्य घटना हुँदा ९३ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २२ जना बेपत्ता र ४४५ जना घाइते भएका छन्।

बाढीका १३७ घटनामध्ये १३ जनाको ज्यान गएको र २२ जना बेपत्ता भएको प्राधिकरणका प्रवक्ता सुरेश सुनारले जानकारी दिए। रसुवाको भोटेकोशीमा असार २४ गते आएको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको थियो।

यस्तै, पहिरोबाट ६, चट्याङबाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको छ। अन्य घटनामा पनि मानवीय क्षति पुगेको प्राधिकरणले जनाएको छ।

ती विपतबाट ४ हजार १३६ परिवार प्रभावित भएका छन्। बाढीबाट १,२४६ र आगलागीबाट १,०४८ परिवार प्रभावित भएका छन्।