काठमाडौं— सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले मेयर साहलाई बुधबार (आज) घुस रकमसहित पक्राउ गरेको हो।

मेयर साहले सेवाग्रहीसँग घुस लिइरहेको बेला कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ। अख्तियारको टोली नगरपालिका कार्यालयमै रहेको र मुचुल्कालगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ।

नगरपालिकामा २० लाखको लागतमा निर्माण भएको नालाको चेक भुक्तानीका लागि मेयर साहले उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन माग गरेका थिए।

उपभोक्ता समितिले रकम दिन नसकेपछि उनले चेक दिन मानेका थिएनन्। मेयर साहले चेक लिनुअघि कम्तीमा एक लाख रूपैयाँ दिन र बाँकी रकम खातामा आइसकेपछि उपभोक्ता समितिलाई भनेका थिए।

यो विषयमा थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।