काठमाडौं— काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले ठगीसम्बन्धी गम्भीर मुद्दामा फरार रहेका केदार कार्कीलाई पक्राउ गरेको छ। कार्कीमाथि विभिन्न ठगी मुद्दामा संलग्न रहेको आरोप लागेपछि पक्राउ गरेको हो ।
उनले २ करोड ७० लाख ८६ हजार रुपैयाँभन्दा बढी बिगो तथा जरिवाना भुक्तान गर्नुपर्ने फैसला भइसकेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।
कार्की तारकेश्वर नगरपालिका–५ गोल्डुङ्गामा बसोबास गर्दै आएका थिए। उनलाई जिल्ला काठमांडौं, काठमाडौं महानगरपालिका–३ का रमेश कुमार कार्कीको जाहेरीका आधारमा पक्राउ गरिएको हो। जाहेरीअनुसार उनले एक करोड २५ लाख रुपैयाँ ठगी गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रतिवादी केदार कार्कीलाई काठमाडौंको कागेश्वरी मनोहरा–६ क्षेत्रबाट पक्राउ गरिएको हो। हाल उनलाई थप अनुसन्धानका लागि म्याद थप गरि हिरासतमा राखिएको छ।
यसअघि पनि केदार कार्कीविरुद्ध अदालतबाट ५ वटा फरक मुद्दामा फैसला भइसकेको प्रहरीले जनाएको छ। ती मुद्दाहरूमा अदालतले ११ महिना ८ दिन कैद र १ करोड ४५ लाख ८६ हजार ९५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।