सर्लाही— जिल्लाको कबिलासीस्थित पिडार चोकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ भने मोटरसाइकलमा सवार पतिपत्नी घाइते भएका छन्।

आज बिहान करिब १०ः३० बजे मलंगवा–नवलपुर सडकखण्डमा पर्ने कबिलासी–१० पिडार चोकमा प्र.२–०३–०१४ प १२१४ नम्बरको मोटरसाइकलले एक पुरुष पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अन्दाजी ५० वर्षीय ती पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मोटरसाइकल चालक कबिलासी–८ निवासी २२ वर्षीय रुपेश राय र पछाडि सवार उनकी २० वर्षीया पत्नी पिंकीदेवी राय समेत घाइते भएका छन्। दुर्घटनामा चालक रायको ओठमा गहिरो चोट लाग्नुका साथै माथिल्लो दाँत भाँचिएको छ ।  उनकी पत्नीको गालामा चोट लागेको छ। दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।