जनकपुरधाम— सरकारले तोकेको समर्थन मूल्य बजार मूल्यभन्दा कम परेपछि जनकपुरका किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामलाई गहुँ बिक्री गरेका छैनन्।

सरकारले प्रतिक्विन्टल ३,८६७ रुपैयाँ ३८ पैसाका दरले गहुँ खरिद गर्ने समर्थन मूल्य तोकेको थियो। तर जनकपुरसहितका बजारहरूमा गहुँ प्रतिक्विन्टल ४,४०० रुपैयाँमा बिक्री हुँदै आएको हुँदा किसानहरूले निजि व्यापारीलाई नै आफ्नो उत्पादन बेच्ने निर्णय गरेका छन्।

किसानहरू गहुँको मूल्यबारे जानकारी लिन कार्यालय आएका भए पनि बिक्री गर्न भने मानेनन् कार्यालयका प्रमुख निर्मल थापाले बताए । 'बजार मूल्य यहाँको खरिद मूल्यभन्दा आकर्षक भएकाले किसानहरूले गहुँ निजी क्षेत्रलाई नै बिक्री गरेका छन्,' प्रमुख थापाको भनाइ छ ।

धनुषा र महोत्तरी जिल्लाका किसानहरूसँग २,५०० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिइएको थियो। सो मध्ये, प्रतिसहकारी संस्था ५०० क्विन्टल र प्रतिकिसान ५० क्विन्टलको हिसाबले खरिद गरिने लक्ष्य रहेको बताइएको छ।

गएको फागुन र चैतमा काटिएको गहुँ बिक्रीका लागि कार्यालयले सूचना प्रकाशित गर्दै किसानलाई आग्रह गरेको थियो। कार्यालय परिसरमै निःशुल्क काँटा पनि सञ्चालनमा ल्याइएको थियो।

गहुँ बिक्रीका लागि किसानले सम्बन्धित स्थानीय तहको सिफारिससहित गहुँ सफा गरेर मापदण्डअनुसार तयार पार्नुपर्ने व्यवस्था गरिएको थियो। कार्यालयका अनुसार भुक्तानी चेकमार्फत दिने तयारी गरिएको थियो। तर, किसानहरूको सहभागिता नहुँदा खरिद प्रक्रिया निष्क्रिय बन्न पुगेको छ।

यसैबीच, कार्यालयले चालु आर्थिक वर्षमा धान खरिद पनि लक्ष्यानुसार हुन नसकेको जनाएको छ। ३२,००० क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा केवल ५,३४६ क्विन्टल मात्र खरिद भएको छ।

धानका लागि सरकारले प्रतिक्विन्टल ३,५८० रुपैयाँ समर्थन मूल्य तोकेको भए पनि बजार मूल्य करिब ४,००० रुपैयाँ पुगेपछि किसानहरूले निजी क्षेत्रमै बिक्री गरेको कार्यालयले जनाएको छ।

धान खरिदका लागि चारवटा सहकारी संस्थासँग सम्झौता गरिए पनि किसानको चासो नदेखिएकाले लक्ष्य पूरा हुन नसकेको कार्यालयका कर्मचारीहरू बताउँछन्।