विराटनगर — मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना युवक पक्राउ परेका छन्।

प्रहरीले बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरमा खोजतलासी गर्दा भुस राख्ने छाप्रोभित्र लुकाइराखिएको एकथान पेस्तोल फेला पारेको हो।

हतियार लुकाएको आरोपमा सोही स्थानका अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। घटनासँग सम्बन्धित अर्का युवक, २० वर्षीय मुकेशकुमार महतो भने फरार छन्।

प्रहरीले घटनास्थलबाट ‘मेड इन जापान’ लेखिएको पेस्तोलसहित एक थान खुकुरी र एक थान मोबाइल फोन बरामद गरेको छ।

त्यसैगरी, पक्राउ परेका हरिकुमार महतोको साथबाट नम्बर मेटाइएको एक होन्डा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा थाहा भएको अनुसार, हरिकुमार र आशिष यसअघि मोटरसाइकल चोरीको आरोपमा पक्राउ परी अदालतद्वारा तोकिएको सजाय पूरा गरी करीब एक महिनाअघि मात्रै छुटेका थिए।

प्रहरीले फरार अभियुक्तको खोजी गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।