काठमाडौं–वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्रको आगमनपछि नेपालमा उल्लेखनीय विकास भएको दाबी गरेका छन्।
महानगर यातायात प्रालिद्वारा सुरु गरिएको विद्युतीय बस सेवा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले राजनीतिक परिवर्तनसँगै देश विकास र समृद्धिको यात्रामा अघि बढेको बताए। नेपाल अब इभी (इलेक्ट्रिक भेइकल) युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले यसप्रति खुसी व्यक्त गरे।
"हाम्रो देश अब इभी मोटर चढ्ने युगमा आइसकेको छ," उनले भने, "बाटो र बिजुली गाउँगाउँमा पुगेको छ। हामीले पेट्रोल–डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौं। अब आफ्नै विद्युत प्रयोग गरेर गाडी चढ्ने बेला आएको छ, जुन निकै सकारात्मक छ।"
श्रेष्ठले जोमसोमजस्तो दुर्गम क्षेत्रमा पनि अहिले सवारीसाधन पुग्न थालेको स्मरण गर्दै आफूले कहिल्यै त्यहाँ मोटर जाने कल्पना नगरेको तर अहिले गाडी चढेरै पुगेको अनुभव सुनाए।
उनले बसहरूको संख्या र गुणस्तर अझै बढाउनु आवश्यक रहेको धारणा पनि राखे। "बसको मात्रामा र स्ट्यान्डर्डमा अझ सुधार हुन जरुरी छ," उनले भने।
श्रेष्ठले लोकतन्त्रले मुलुकमा सकारात्मक परिवर्तन ल्याएको भन्दै यस्ता प्रविधि–मैत्री पहलहरूलाई उत्साहजनक विकासका रूपमा चित्रित गरे।






































