काठमाडौं–नेकपा (एमाले) ले पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउने लक्ष्यसहित विधान अधिवेशनको मिति तोकेको छ। तर, पछिल्ला दिनहरूमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियतासँगै च्यासलस्थित पार्टी मुख्यालयमा कार्यकर्ताको उपस्थिति घट्दै गएको देखिएको छ।

महासचिव शंकर पोखरेलको प्रमुख सम्बोधन रहने भनिएको विधान अधिवेशनसम्बन्धी तयारी भेलामा उपस्थिति अत्यन्तै कम देखिएको हो। भेलामा परिभाषित कार्यकर्ताहरू नै न्यून संख्यामा उपस्थित भएका छन्।

गत साता च्यासलमा जनसंगठनका पदाधिकारीहरूको भेला आयोजना गरिएको थियो। सोको केही दिनमै केन्द्रीय विभागमा कार्यरत सदस्यहरूको छुट्टै भेला राखिएको थियो। दुबै कार्यक्रममा महासचिव पोखरेलले निर्देशन र जानकारी दिने भएकाले प्रत्येक सहभागीलाई टेलिफोन गरेर अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको थियो। तर, जिम्मेवारीमा रहेका आधा संख्याले मात्र सहभागिता जनाए।

हाल एमालेसँग २२ वटा जनसंगठन छन्। तीमध्ये अधिवेशन सम्पन्न गरेका संगठनमा ९ जना पदाधिकारी हुने मानिएको छ, जसअनुसार करिब १९८ जना पदाधिकारीको उपस्थिति अपेक्षित थियो। तर, एक पदाधिकारीका अनुसार ६० जनासम्म मात्र च्यासल पुगे।

त्यसैगरी, पार्टीका हाल ३२ विभाग छन्, प्रत्येकमा कम्तीमा २१ सदस्य रहँदै आएका छन्। न्यूनतम गणनामा पनि प्रति विभाग ६ जना उपस्थित हुने अपेक्षा थियो, तर कुल सहभागिता १०० जनासम्म पनि पुगेन। कतिपय विभागबाट त एक जना पनि उपस्थित भएनन्। नेताहरूले विभाग प्रतिनिधिहरूको उपस्थितिबारे जानकारी माग्दा धेरै विभागका सदस्यहरू उपस्थित नै थिएनन्।

भेलामा महासचिव पोखरेलले मात्र सम्बोधन गर्ने, अन्य वक्ताहरूलाई नबोलाइने र सहभागीबाट सुझाव नलिइने प्रवृत्तिको आलोचना हुँदै आएको छ। स्थायी समिति र पोलिटब्युरो सदस्यहरू पनि उपस्थित हुने भए तापनि कार्यक्रम केवल औपचारिकतामा सीमित हुने गरेको भन्दै केन्द्रीय सदस्य कर्ण थापाले कार्यक्रमप्रति असन्तुष्टि जनाए।

एक कार्यकर्ताले भने, "कार्यक्रमहरू कर्मकाण्डी शैलीमा भइरहेकाले सक्रिय कार्यकर्ताको सहभागिता घटेको हो।"