बाजुरा— जिल्लाको बुढीगंगा नगरपालिका–८ मोटावाडाका ३२ वर्षीय पारस कुँवर २२ दिनसम्म बेपत्ता रहेको अवस्थामा मृत फेला परेका छन् ।

कुँवरको शव बुढीगंगा–९ स्थित चुल्ठे लेकमा भेटिएको हो । उनका आफन्तले लगाएको जकेटका आधारमा शवको पहिचान गरेका हुन् । प्रहरीले भने औपचारिक रूपमा पहिचान प्रक्रिया जारी राखेको जनाएको छ ।

पारस कुँवर गत २२ दिनदेखि परिवारको सम्पर्क बाहिर थिए । पारसका आफन्त एलिजा कुँवरका अनुसार उनी मानसिक रूपमा अस्वस्थ थिए । यसअघि पनि दुईपटक हराएको उनी बताउछिन् । विगतमा ७ र ८ दिनको अन्तरालमा हराएका उनलाई परिवारले खोजी गरेर घर फर्काएका थिए ।

यसपटक पनि आफन्त र स्थानीयले व्यापक खोजी गरे पनि पारस फेला परेका थिएनन् । अन्ततः चुल्ठे लेक क्षेत्रमा उनको सडेगलेको अवस्थामा शव भेटिएको हो । शवको अवस्था हेर्दा उनी हराएको केही दिनमै मृत्यु भइसकेको अनुमान गरिएको छ ।

चिसो, भोक र शारीरिक अवस्था कमजोर भएकाले उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

शवलाई पोस्टमार्टमका लागि बाजुरा जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पारसका बुबा कर्ण कुँवर र आमा माता कुँवरका दुई छोरा र एक छोरी छन् । तीमध्ये दुबै छोरा मानसिक रूपमा अस्वस्थ रहेको आफन्तले जनाएका छन् ।