मधेश प्रदेश— जनमत पार्टीको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले वीरगञ्जसहित मधेसका विभिन्न क्षेत्रमा देखा परिरहेको खानेपानी संकट समाधानका लागि सक्रिय पहल थालेको छ। लगातारको गर्मी, वर्षा नहुनु, सुक्खा अवस्थाको विस्तार र जलस्रोतहरू सुक्दै जानुले गम्भीर पानी संकट निम्त्याएपछि सरकारले तत्काल राहतस्वरूप वारुणयन्त्र (फायर ब्रिगेड) र पानी ट्याङ्कर परिचालन गरेको हो।

सरकारका प्रवक्ताका अनुसार, विशेषगरी वीरगञ्ज, सर्लाही, रौतहट लगायतका शहरी तथा ग्रामीण क्षेत्रमा पाइने खानेपानीको स्रोत सूखिन थालेपछि सर्वसाधारणको दैनन्दिन जीवन कष्टकर बन्दै गएको छ। यस्तो अवस्थामा जनताको आधारभूत आवश्यकताको संरक्षण गर्न प्रदेश सरकारले तत्कालीन समाधानका उपायहरू अगाडि बढाएको जानकारी दिइएको छ।

प्रदेश सरकारका एक उच्च अधिकारीले भने, 'जलस्रोतहरूमा तत्काल सुधार नआउँदासम्म हामी वारुणयन्त्र र ट्याङ्करमार्फत समुदायलाई पानी आपूर्ति गर्दैछौं। दीर्घकालीन समाधानका लागि पनि योजना बनाइरहेका छौं।'

सरकारले जनतालाई संयमता अपनाउन र अनावश्यक पानीको प्रयोगबाट बच्न आग्रह गरेको छ। साथै, दीर्घकालीन खानेपानी योजनाहरू कार्यान्वयन गर्न सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको समेत बताइएको छ।

स्थानीयवासीहरूले प्रदेश सरकारको यो कदमको स्वागत गरेका छन् भने दीर्घकालीन समाधानको अपेक्षा पनि व्यक्त गरेका छन्।