दाङ— झन्डै १८ वर्षको उमेरमा कर्तव्य ज्यान मुद्दामा मुछिएर फरार रहेका अर्जुन बुढा मगर भनिने राजाबाबु बुढा मगर पक्राउ परेका छन्।
गढवा गाउँपालिका–३, खैरेनी निवासी २७ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय गढवाले कुटपिटको विषयमा सोधपुछ गर्ने क्रममा पक्राउ गरेको हो।
२०७६ साल माघ २४ गते उच्च अदालत पाटनले उनलाई कर्तव्य ज्यान र चोरी मुद्दामा २० वर्ष १ महिना १५ दिन कैद सजायको फैसला सुनाएको थियो। त्यसयता उनी फरार थिए।
प्रहरीका अनुसार उनी कहिले अर्जुन, कहिले चुनु त कहिले राजाबाबु नाम प्रयोग गरेर गाउँघरमै बस्दै आएका थिए। उनले दाङको लमही क्षेत्रमै केही बालकहरूलाई चोरी गर्न लगाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ।
असार ३० गते उनले खैरेनी गाउँकै एक बालकमाथि कुटपिट गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनै फरार अभियुक्त रहेको पत्ता लागेको हो।
मंगलबार अदालतबाट पुष्टि भएपछि उनलाई जिल्ला अदालत दाङमा पेश गरियो। त्यसपछि कैद सजाय भुक्तान गर्न कारागार चलान गरिएको प्रहरीले जनाएको छ।