रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोताकोटकी २२ वर्षीया अर्चना विक र उनकी नवजात शिशु छोरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
नगरपालिकाका अनुसार, सोमबार बिहान जन्मिएकी शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्राथमिक उपचारपछि थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको हो।
आठबीसकोट नगरप्रमुख रवि केसीका अनुसार, नगर अस्पतालमा आवश्यक सुविधा अभाव भएका कारण तत्काल उद्धारको सिफारिस गरिएको थियो।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत, नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत उद्धार प्रक्रिया सञ्चालन गरिएको हो। अहिले आमा र शिशुको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।