काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सांसद शाहीले देश भ्रष्टाचारले ग्रस्त भएको भन्दै गुप्ताविरुद्ध कडा कारबाहीको माग गरेका हुन्। उनले भने, “देश आज भ्रष्टाचारीको देश भनेर चिनिन थालेको छ। मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै घुस प्रकरणको टुंगो लगाउन खोज्नु लज्जास्पद हो।”
शाहीले मन्त्रीको अडियो टेप प्रकरणलाई सार्वजनिक अपराधको संज्ञा दिँदै प्रश्न गरे, “अख्तियारजस्ता संवैधानिक निकाय के गर्दै छन्? खुलमखुल्ला मन्त्रीको संलग्नतामा भ्रष्टाचार भएको प्रमाण सार्वजनिक भएको छ, तर कारबाही छैन।”
उनले थपे, “मन्त्रीले क्वाटरफाइनलमा पैसा दिएको अडियो छ, अब राजीनामा दिएर मात्रै छुट हुन्छ? यस्तो परिपाटीले गलत सन्देश जान्छ। मन्त्रीलाई तत्काल गिरफ्तार गरेर निष्पक्ष छानबिन गर्नुपर्छ।”