दाङ— जिल्लामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ। रामपुर–घोराही सडकखण्ड अन्तर्गत सिस्ने खोलानजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो।
उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए।
मृत्यु हुनेमा गढवा गाउँपालिका–८ घर भई हाल घोराही उपमहानगरपालिका–१७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक रहेका छन्।
दुर्घटना बेलुका करिब ७ बजे घोराही उपमहानगरपालिका–४ स्थित सिस्ने खोलामा भएको हो। रामपुरबाट घोराहीतर्फ गइरहेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल तीव्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।