काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवाका लागि भएको भनिएको लाखौं रुपैयाँको घुस ‘डिल’ अडिओ सार्वजनिक भएपछि गुप्ता विवादमा तानिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर सोधपुछ गर्दै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री गुप्ता राजीनामा लिएर प्रधानमन्त्री निवास पुगेका हुन्।
अडियोको फरेन्सिक परीक्षणका लागि अनुसन्धान अघि बढाइएको छ भने निष्पक्ष छानबिनका लागि अख्तियार र अन्य नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
यस घटनापछि मन्त्री गुप्ताको बर्खास्ती र अनुसन्धानको माग गर्दै चौतर्फी दबाब सिर्जना भएको थियो।