काठमाडौं – घुस सम्बन्धी एक अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको बचाउमा पूर्व उद्योगमन्त्री महेश बस्नेत उत्रिएका छन्। मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै बस्नेतले प्रविधिको युगमा चरित्र हत्या गर्न नक्कली अडियो बनाइने गरेको दाबी गरेका छन्।

बस्नेतले लेखेका छन्, “प्रकरणमा मिडियामा जोडिएका खेम पुन र सुजन लामाले सार्वजनिक रूपमा अडियो नक्कली भएको र आफूहरूमाथिको आरोप षड्यन्त्रपूर्ण रहेको भन्दै खण्डन गरिसकेका छन्।” उनका अनुसार दुबै जनाले फरक फरक विज्ञप्तिमार्फत अडियोको फरेन्सिक परीक्षण गरिनुपर्ने माग राखेका छन्।

बस्नेतले निष्पक्ष र वैज्ञानिक छानबिन आवश्यक रहेको उल्लेख गर्दै भने, “आजको प्रविधिको युगमा राजनीतिक लाभको लागि नक्कली कुरा बनाएर चरित्र हत्या गर्ने काम हुँदै आएको छ। त्यसैले कुनै निष्कर्षमा पुग्नु अघि तथ्य, प्रमाण र निष्पक्ष छानबिनको पर्खाइ गरौं।”

सत्तारूढ नेकपा एमालेका नेता समेत रहेका बस्नेत आफैं पनि सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै बेला बेलामा विवादमा आइरहन्छन्। उनीमाथि बलात्कार र भ्रूण हत्या जस्ता गम्भीर आरोप लागिसकेका छन्, जसको प्रतिवाद उनी सामाजिक सञ्जालमार्फत गर्दै आएका छन्।