काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोराला नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माणको तयारी भइरहेको बताएका छन्।

गएराति बालुवाटारमा मुस्ताङका संघीय सांसद र स्थानीय जनप्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले कोराला नाका सञ्चालनका लागि सरकारले आवश्यक कदम चालेको जानकारी दिए। उनले हालै गोसाइकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीले रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाएपछि त्यस क्षेत्रको स्थलगत अवलोकन गरेर वैकल्पिक मार्ग र नाका सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको पनि स्मरण गराए।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा बेनीघाट–कोराला सडक निर्माण थालिएको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथ भ्रमण गराइएको, मुक्तिनाथ केवलकार परियोजना अगाडि बढाइएको, स्याउको सुपर जोन र च्याङ्ग्रापालन लगायतका कार्यहरूमा प्राथमिकता दिइएको बताए।

प्रतिनिधिमण्डलले माथिल्लो मुस्ताङका लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरी प्रति विदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क लिँदा पर्यटन घटेको भन्दै रोयल्टी नीतिमा पुनरावलोकन गर्न आग्रह गरे।

त्यस्तै, कालिगण्डकी करिडोर अन्तर्गत कागबेनी–कोराला सडक खण्ड कालोपत्र गर्न र कोराला नाकामा भन्सार, अध्यागमन, सुरक्षा पोष्ट, सुख्खा बन्दरगाह जस्ता संरचना निर्माण गरेर नाकालाई पूर्ण रूपमा सञ्चालन गर्न माग गरिएको थियो। प्रतिनिधिहरूका अनुसार नाका सञ्चालन नहुँदा स्थानीय व्यवसाय र पर्यटन प्रभावित भएको छ।

प्रतिनिधिमण्डलमा संघीय सांसद योगेन्द्र गौचन थकाली, लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए। कागबेनी–कोराला ९७ किमी सडकखण्ड कालोपत्रको ठेक्का अझै बाँकी छ भने तातोपानी, दाना, पाण्डा र तान्ग्बे खोलामा पुल निर्माणका ठेक्का तोडिएकाले पुनः प्रक्रिया सुरु गर्नुपर्ने अवस्था छ।