काठमाडौं— घुस डिलसम्बन्धी अडियोमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ।
मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सोधपुछ गरेका थिए। तर तत्काल 'एक्सन'भने लिएका थिएनन्।
प्रधानमन्त्री ओलीनिकट स्रोतका अनुसार मन्त्री गुप्तालाई आज हटाउने तयारी छ।
मन्त्री गुप्ताले पदबाट आफै राजीनामा दिन सक्ने वा नदिए बर्खास्त गरिने तयारी रहेको उक्त स्रोतले बताएको छ।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको'अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भइरहेको छ।
सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
साथै एमालेका नेता राजन भट्टराईलगायतले पनि मन्त्री गुप्तालाई हटाउन माग गरेका छन्। गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन्।
मन्त्री गुप्ताले भने आफ्नो आवाज परीक्षणका लागि तयार रहेको तथा पैसा आफ्नो र मन्त्रालय दुवैको खातामा नआएको दाबी गर्दै आएका छन्।