काठमाडौं— कम्पनी रजिष्ट्रार कार्यालयमा अनलाइन प्रणाली बिग्रिएको बहानामा कर्मचारीहरूले सेवाग्राहीसँग घुस लिने, मनपरी ढंगले फाइल ट्रान्सफर गर्ने, र सेवामा अनावश्यक ढिलासुस्ती गर्ने गम्भीर समस्या देखिएको छ।

सेवाग्राहीहरूका अनुसार, अनलाइनमार्फत आवेदन स्वीकृत भइसकेपछि समेत भुक्तानी गर्न आवश्यक लिंक नखुल्ने, प्रणाली बारम्बार डाउन हुने, र सम्पूर्ण प्रक्रिया नै अपारदर्शी बनाइएको छ। यस्तो अवस्थाले गर्दा कार्यालयमा दैनिक कामकाज प्रभावित हुँदै आएको छ।

कार्यालय स्रोतका अनुसार हालसम्म झन्डै १८ हजार ७९३ आवेदनहरू पेन्डिङ अवस्थामा रहेका छन्। तीमध्ये ११ हजारभन्दा बढी आवेदनहरू सुब्बा तहमै रोकिएका छन्। फाइल स्वीकृतिका क्रममा कुन फाइल कस्कोमा जान्छ भन्ने कुरामा कुनै स्पष्ट मापदण्ड नहुनु, कर्मचारीको मनपरी व्यवहार र पारदर्शिता नहुनु अहिलेको मुख्य समस्या बनेको सेवाग्राहीहरू बताउँछन्।

सेवाग्राही रामकृष्ण महतोका अनुसार, “अनलाइन सिस्टम छ भन्ने सुन्दा हामी ढुक्क थियौं, तर भुक्तानी नै गर्न सकिन्न, हरेकचोटी कर्मचारी भेट्नैपर्ने अवस्था आउँछ। त्यही बहानामा कर्मचारीहरूले पैसा माग्छन्।”

विगत केही महिनादेखि नियमितजस्तो देखिएको प्रणाली अकस्मात बिग्रिने, र सोही मौका छोपी कर्मचारीहरू घुसको माग गर्ने गरेको सेवाग्राहीहरूको गुनासो छ।

यससम्बन्धमा कार्यालय प्रशासनले भने प्रविधिगत समस्या समाधानका लागि प्रयास भइरहेको र आवेदनको चापका कारण ढिलाइ भएको जनाउँदै आएको छ। तर सुधारका लागि स्पष्ट कार्ययोजना नआएको भन्दै सेवाग्राहीहरू असन्तुष्ट छन्।

अबिलम्ब सुधार नभए प्रशासनिक सेवा नै धरापमा पर्ने खतरा देखिन थालेको छ।