काठमाडौं— अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
लुइजियाना राज्यको हाइवे ८० मा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार शनिबार जुलाई १३ तारिख राति करिब ९ बजे भारी वर्षाको क्रममा यादवले चलाएको होंडा एकॉर्ड कार अनियन्त्रित भइ सडक छेउमा रहेको रूखमा ठोक्किएपछि आगो लागेर जलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यादव र ओलीले सीट बेल्ट लगाएका थिए वा थिएनन् भन्ने विषयमा स्पष्ट भइनसकेको बताइएको छ ।
घाइते दुई जना नजिकैको अस्पतालमा उपचाररत छन् । एलएसपीले दुर्घटनापछिको नियमित रासायनिक परीक्षण (टक्सिकोलोजी)का लागि नमुना संकलन गरी परीक्षणका लागि पठाउन लागेको जनाएको छ ।
दुर्घटनापछि लुइजियाना टेक विश्वविद्यालयले जुलाई १४ तारिख एक सार्वजनिक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ । विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसन ले फेसबुकमार्फत् लेखेका छन्, “हामी हाम्रो विश्वविद्यालयमा ‘केयरिङ’ अर्थात् एकअर्काको हेरचाहलाई उच्च मूल्यको रूपमा लिन्छौं । आज र सधैं एकअर्काको ख्याल राखौं ।”
विश्वविद्यालयले शोकमा परेका विद्यार्थीहरूका लागि मनोसामाजिक परामर्श सेवा (काउन्सेलिङ) उपलब्ध गराएको जानकारी दिएको छ ।