काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता सोमबार बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताको घुस ‘डिल’बारेको अडियोका विषयमा जानकारी लिन उनलाई बालुवाटार बोलाएका थिए।
गुप्ताको ‘बिफ्रिङ’पछि उनलाई प्रधानमन्त्रीले राजीनामाको निर्देशन दिन सक्ने सम्भावना छ। छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गुप्ताको अडियो बाहिर आएपछि कांग्रेस(एमालेबीचमा छलफल भएको छैन। नेताहरू पनि प्राय मौन छन्। तर कांग्रेसले भने यसबारे अनुसन्धान हुनुपर्ने माग गरिरहेको छ।
‘अहिलेसम्म कांग्रेस एमालेबीचमा छलफल भएको छैन। अनुसन्धान गर्नुपर्छ। दोषी देखिए कारबाही हुनुपर्छ। अख्तियार, केन्द्रीय अनुसन्धान ब्युरो छ। कानुनी निकायहरूले कारबाही गर्नुपर्छ,’ कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने।
गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग गरेको संवाद बाहिरिएको छ।
कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो।