काठमाण्डौ । लोक तथा दोहोरी गायिका शान्तिश्री परियार र गायक रामजी खाँडको तीज गीत ‘लुकी लुकी’ लगायत तीन गीतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजको नाममा अश्लीलता र विकृति फैलाएको आरोप लगाउँदै ‘गाई कालो’, ‘सल्ला दमारमा’ र ‘लुकी लुकी’ गीत हटाउन माग गर्दै उजुरी दिएको हो।
तीनवटै गीतमा अभिनेत्री प्रियंका कार्की, गायक सुनिल क्षेत्री लगायतका कलाकारहरू देखिएका छन्। उजुरी संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीलाई बुझाएका हुन्।