झापा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले आयोजना गरेको हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ। पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै दमकमा शनिबारबाट सञ्चालन गरिएको अभियानमा प्रहरीले हस्तक्षेप गर्दै माइक खोसेर भाँचिदिएको रास्वपा झापाका नेता प्रकाश पाठकले बताएका छन्।

पाठकका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी कार्यक्रमलाई कारण देखाउँदै प्रहरीले अभियान रोक्न दबाब दिएको थियो। ‘रास्वपा दमकले सञ्चालन गरेको हस्ताक्षर अभियानमा हस्तक्षेप गरी लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण रूपमा आफ्ना विरोध, अभियान तथा असन्तुष्टि राख्न पाइने कानुनी व्यवस्थाको उपहास हुने गरी माइक भाँचिदिएका छन्,’ उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘यो घटनाले यिनको नियत र प्रतिशोधपूर्ण व्यवहारलाई थप उदाङ्गो पारिदिएको छ।’

शनिबार झापा आइपुगेका प्रधानमन्त्री ओली आइतबारसम्म त्यही बस्ने कार्यक्रम रहेको छ। उनले शनिबार इलाममा एक अस्पतालको उद्घाटनसमेत गरेका थिए।

रास्वपाले हस्ताक्षर अभियान जारी राख्ने बताएको छ भने यस घटनाको विरोधमा थप कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहेको छ।