काठमाडौं— विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट गरिएको छ । सर्वसाधारणका लागि गत असार १८ गतेदेखि असार २२ गतेसम्म खुला गरेको आईपीओ आइतबार बाँडफाँट भएको हो ।

कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

सर्वसाधारणका लागि खुलाईएको यस आईपीओमा २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।

कुल आवेदनमध्ये २० लाख ४३ हजार ६८६ जनाबाट परेको २ करोड ३४ लाख ८३ हजार ९० कित्ता सेयर सदर भएको थियो भने बाँकी १ लाख ६ हजार ९८६ जनाबाट परेको २६ लाख ६५ हजार २६० कित्ता बदर भएको थियो ।

यस कम्पनीको आईपीओका आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने १७ लाख ४९ हजार ४१० जनाको हात खाली भएको छ ।