काठमाडौं— डलर साटिदिन्छु भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पा स्थायी घर भई हाल उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।

पक्राउ पर्नेहरूमा पर्वत तामाङ भनिने २८ वर्षीय कर्म वाङगेल पाइन, सूर्य बहादुर भनिने २५ वर्षीय प्रकाश तामाङ, सन्तबिर भनिने ३६ वर्षीय सागर पाइन र ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले ९७६२६३४८६१ नम्बरको मोबाइलबाट सम्पर्क गरी आफूहरूसँग ६ हजार अमेरिकी डलर रहेको, त्यसको सट्टामा ७ लाख रुपैयाँ दिनुपर्ने भन्दै ठगी गरेका थिए।

उक्त गिरोहले भक्तपुर चाँगुनारायण–४ हलछापस्थित एकान्त जंगलमा पीडितलाई लगी समूहमा ५–६ जना भई पीडितको मुख थुनी नक्कली पेस्तोल देखाएर धम्की दिएका थिए। सो क्रममा पीडितको साथमा रहेको आइफोन मोबाइल र नगद सात लाख रुपैयाँ जबरजस्ती खोसेर फरार भएका थिए।

प्रहरीले उनीहरूको साथबाट बा ७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नम्बरको पल्सर मोटरसाइकल, ७२ हजार रुपैयाँ रकम लेखिएको चेक १ थान, नेपाली ६४ हजार नगद, ग्लोबल आइएमई बैंकको जम्मा गरेको रसिद र विभिन्न कम्पनीका १० थान मोबाइल फोन बरामद गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको टोलीले भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी घटनामा प्रयोग भएका सवारीसाधन र प्रमाणहरू सहित जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको जनाएको छ।