विराटनगर— झापा र सुनसरी जिल्लाबाट लागू औषधसहित ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार, गोप्य सूचनाको आधारमा झापाको दमक नगरपालिका–४ बाट चार जना युवालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा दमक–४ की १९ वर्षीया प्रिया तामाङ, दमक–५ का १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र दमक–१० का २७ वर्षीय मनोज खनाल रहेका छन्। उनीहरूको साथबाट ३५० क्याप्सुल र ३५० वटा नशालु चक्की बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय इटहरीले सुनसरीको इटहरी–४ बाट लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का २६ वर्षीय धिरेन राई र २७ वर्षीय धिरज मगर रहेका छन्। उनीहरूका साथबाट २ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ।
पक्राउ परेकामाथि लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।