काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको छ।

जिल्ला कार्यसमितिको झण्डा बोकेर आएका नेविसंघका विद्यार्थीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै शैक्षिक प्रणालीमा देखिएको अनियमितता र शैक्षिक माफियाविरुद्ध आवाज उठाएका हुन्।

एक दर्जनभन्दा बढी संख्या पुगेका उनीहरूले टाउकोमा कालोपट्टी बाँधेका थिए र ‘फेयर स्कलरसिप’, ‘दोहोरो भर्ना बन्द गर’, ‘प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति गर’, ‘विद्यालय शिक्षा ऐन जारी गर’ जस्ता नारा लेखिएका पम्प्लेटहरू बोकेका थिए।

प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका विद्यार्थीहरूलाई मालीगाउँ प्रहरी वृत्तमा लगिएको प्रहरीले जनाएको छ।