काठमाडौं — मनसुनका कारण पहिरोको जोखिम बढेको भन्दै लमजुङको बेसीशहरदेखि मनाङ सिमानासम्मको सडकखण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
डुम्रे–बेसीशहर–चामे सडकखण्ड अन्तर्गतको उक्त क्षेत्रमा असार २५ गतेदेखि साउन मसान्तसम्म हरेक साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। जिल्ला सुरक्षा समितिको असार २४ गते बसेको बैठकले मनसुनजन्य सम्भावित विपद्बाट जनधनको क्षति कम गर्न यस्तो कदम उठाएको जनाएको छ।
प्रशासनका अनुसार सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सुरक्षाको उपायस्वरूप सवारी आवागमनमा समयबद्ध प्रतिबन्ध लगाइएको हो।