काठमाडौं — गीतसंगीत र कला क्षेत्रमा बढ्दै गएका साइबर अपराध र सामाजिक विकृति नियन्त्रणका लागि प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ।
गृहमन्त्री रमेश लेखकले बिहीबार गृह मन्त्रालयमा भेटका लागि पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधि टोलीलाई यो जानकारी दिएका हुन्। उनले प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख डीआईजी नवीन्द अर्याललाई ब्युरोमा फोकल पर्सन तोकेर तत्काल काम अघि बढाउन निर्देशन दिए।
गृहमन्त्री लेखकले डिजिटल प्लेटफर्ममा समाजमा विद्वेष, घृणा, अपमान र भाषिक विभाजन फैलाउने सामग्री रोक्न निष्कर्षसहित कडाइका साथ अघि बढ्ने बताएका छन्।
“समाजमा घृणा र अपहेलनाको भावना फैलाउने गीतसंगीतको दुरुपयोग रोक्न सरकार गम्भीर छ,” उनले भने।
प्रहरी महानिरीक्षक थापाले गीतसंगीतका नाममा देखिएको विकृति विरुद्ध आम नागरिकले प्रहरीमा उजुरी दिन आग्रह गरे। “टिकटक र गीतहरू यस्तो छन् कि बच्चाबच्चासँग बसेर हेर्न मिल्दैन, अब अन्त्य गर्नुपर्छ,” उनले भने।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा र अन्य कलाकारहरूले लोकसंगीतमा बढ्दो अश्लीलता र विकृति प्रति चिन्ता व्यक्त गर्दै राज्य गम्भीर बन्नुपर्ने माग गरेका थिए। कार्यक्रममा कलाकार शिव हमाल, बद्री पंगेनी, पूर्णकला बीसी, सम्झना भण्डारी, पुष्कल शर्मा, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ल लगायत सहभागी थिए।
यसै दिन राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गृहमन्त्रीलाई छुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै तीज पर्वमा सार्वजनिक भएका अश्लील गीतहरू रोक्न माग गरेको थियो। गृहमन्त्री लेखकले त्यसको रोकथाममा सरकार सक्रिय रहेको बताए।