सियोल – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले पुनः पक्राउ गर्न आदेश दिएको छ। बिहीबार बिहान सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट हुन सक्ने भन्दै विशेष अभियोजकको आग्रहमा गिरफ्तारी वारेन्ट जारी गरेको हो।
डिसेम्बरमा 'मार्सल ल' घोषणा गरी सत्ता कब्जा गर्ने प्रयासको आरोपमा मुछिएका युनलाई यसअघि मार्चमा रिहा गरिएको थियो। तर पछिल्लो आदेशपछि उनलाई राजधानी नजिकको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ।
विशेष अभियोजक चो युन–सुकको टोलीले युनमाथि विद्रोह प्रयास, शक्ति दुरुपयोग, आधिकारिक कागजातको जालसाजी लगायतका गम्भीर आरोप लगाएको छ। यदि दोषी ठहरिए, उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनसक्नेछ।
युनले पत्रकारहरूसँग बोल्न अस्वीकार गरेका छन् भने उनका वकिलहरूले गिरफ्तारीलाई “अत्यधिक र आधारहीन” बताएका छन्। उनलाई प्रारम्भिक रूपमा २० दिनसम्म हिरासतमा राखिनेछ, तर छानबिन र अभियोग दर्ता अनुसार अवधि लम्बिन सक्नेछ।
पूर्वराष्ट्रपति युनमाथि सन् २०२३ को डिसेम्बर ३ मा 'राज्यविरोधी उदारवादी' हरूविरुद्ध सेनाको प्रयोग गरी सत्ता कायम राख्ने प्रयास गरेको आरोप छ। तर संसदले उक्त आदेश खारेज गरेपछि उनी केही दिनमै पदमुक्त भएका थिए।
उनका प्रतिस्पर्धी र वर्तमान राष्ट्रपति ली जे म्यङले युनविरुद्ध विशेष छानबिन सुरु गराएका छन्। लीले नयाँ निर्वाचन जितेर युनको स्थान लिएका थिए।