काठमाडौं— त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा.दिपक अर्याल नियुक्त भएका छन्। विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले असार २३ गते तीन जना नाम सिफारिस गरेको थियो। तीमध्ये जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख डा.दिपक अर्याल, त्रिवि विज्ञान सङ्कायका पूर्व डीन प्रा, डा. विनिल अर्याल, र प्रा. डा. खड्ग केसीको नाम समावेश थियो।
यसअघि उपकुलपति रहेका प्रा.डा. केशरजङ्ग बरालले राजीनामा दिएपछि केसीलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो। बरालले दिएको राजीनामा प्रधानमन्त्री ओलीले चैत २८ गते स्वीकृत गरेका थिए।
नव नियुक्त उपकुलपति डा. अर्याल जल तथा मौसम विज्ञान क्षेत्रका विज्ञ हुन्। उनी यसअघि जल तथा मौसम विज्ञान केन्द्रीय विभागको प्रमुखका रूपमा कार्यरत थिए।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        