काठमाडौं— महोत्तरी र रामेछापमा दुई पत्रकारमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको कडा निन्दा गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालको हस्ताक्षेरीत विज्ञप्तिमा दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

महोत्तरीका पत्रकार तथा एचटिपी खबरका सञ्चालक दिवाकर साहमाथि २०८२ असार २३ गते सोमबार राति जलेश्वरस्थित पूर्वाधार विकास कार्यालय परिसरमा समाचार संकलनका क्रममा दुर्व्यवहार भएको थियो। ‘अनुचित गतिविधि भइरहेको’ आशंकामा साह घटनास्थल पुगेका बेला केही व्यक्तिहरूले पेशागत कार्यमा बाधा पुर्र्याउने गरी व्यवहार गरेको महासंघ महोत्तरी शाखाले जानकारी दिएको छ।

नेपाल पत्रकार महासंघले पत्रकारको पेशागत धर्म निर्वाहका क्रममा भएको यस्ता कार्यहरू प्रेस स्वतन्त्रतामाथिको हमला भएको बताउँदै दोषीको पहिचान गरी कारबाही गर्न आग्रह गरेको छ। महासंघले पत्रकार साहलाई आचारसंहिताको पालना गर्दै कार्य सञ्चालन गर्न समेत अनुरोध गरेको छ।

त्यसैगरी रामेछापका पत्रकार शम्बरबहादुर हायु (प्रशान्त) माथि पनि दुर्व्यवहार भएको घटनाप्रति महासंघले आपत्ति जनाएको छ। २०८२ असार २१ गते शनिबार हायूद्वारा सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एक स्ट्याटसको निहुँमा मन्थली माध्यामिक विद्यालयका शिक्षक ऋषि कार्कीले रेडियो तफदीको कार्यालयमा प्रवेश गरी दुर्व्यवहार गरेको महासंघ रामेछाप शाखाको भनाइ छ।

कुनै पनि विषयमा असन्तुष्टि भए संवाद र छलफलमार्फत समाधान खोजिनुपर्नेमा शिक्षण पेशामा आवद्ध व्यक्तिबाट यस्तो अभद्र व्यवहार हुनु अत्यन्त निन्दनीय, अशोभनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासंघको ठहर छ।

महासंघले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै छानबिन गरेर दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारलाई स्वतन्त्रतापूर्वक कार्य गर्न सक्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।