काठमाडौ— काठमाडौँ महानगरपालिका–२६ बबरमहलकी एक महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबर्जस्ती नाच्ने कार्यमा संलग्न गराइएको आरोपमा टिंकु जैसवाल भन्ने अरुण कुमार जैसवाल पक्राउ परेका छन्।
पीडित महिलाका अनुसार प्रतिवादी जैसवालले फेसबुकमार्फत सम्पर्क गरी वीरगञ्जमा आयोजना हुने स्टेज डान्स शो मा सहभागी गराउने भन्दै प्रति शो रु. ४,००० पारिश्रमिक, खाना बस्न निःशुल्क व्यवस्था हुने र आर्थिक अभाव भएमा लिन पठाउने आश्वासन दिएका थिए। सोही आश्वासनमा विश्वास गरी पीडित महिला २०८१ चैत ३० गते राति ९ः१५ बजे कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकबाट पठाओमार्फत थानकोट पुर्याइएकी थिइन्।
थानकोटबाट बस चढाई भारतको मोतीहारी जिल्ला, छौडादानो कठनौतिया पुर्र्याई म्युजिकल आर्केस्ट्रा ग्रुप लेखिएको घरमा राखिएको र त्यहाँबाट उनलाई विभिन्न ठाउँमा दैनिक ५ स्थानमा १७/१८ घण्टासम्म नाच्न बाध्य बनाइएको थियो। पीडितका अनुसार त्यहाँ उनलाई यौन दुर्व्यवहारसमेत गरिनुका साथै बिरामी हुँदा उपचार नपाइ मोबाइल खोसी बन्धक बनाइ जबर्जस्ती काममा लगाइएको थियो।
पीडितको उद्धार माईती नेपालको पहलमा गरिएको हो। उद्धारपछि उनले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी जाहेरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) द्वारा अनुसन्धान थालिएको थियो।
यस क्रममा असार २३ गते पर्सा जिल्ला, पोखरिया नगरपालिका वडा नम्बर १ बाट प्रतिवादी जैसवाललाई पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।