झापा—झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालय नजिकै एक भारतीय नागरिक एयर पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल, दार्जिलिङ निवासी २५ वर्षीय प्रतीक अग्रवाल रहेका छन्। 

मंगलबार बिहान करिब पौने ९ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सवारी तथा यात्रुहरूको नियमित जाँचका क्रममा अग्रवालले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिकीमा लुकाइराखिएको अवस्थामा एक थान एयर पेस्तोल फेला पारेको हो।

प्रहरीका अनुसार अग्रवालको साथबाट एयर पेस्तोल, त्यसमा प्रयोग हुने मेटल बुलेट १८ राउण्ड र ४ थान मोबाइल समेत बरामद गरिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अग्रवालमाथि अहिले थप अनुसन्धान भइरहेको छ।