काठमाडौं— नेपाल–चीन सीमास्थित लेन्दे खोलामा मंगलबार आएको भीषण बाढीका कारण २० जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका ३ जना, नेपाली कामदार ६ जना, ट्रक चालक ५ जना र चिनियाँ नागरिक ६ जना रहेका छन्।

बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत स्याफ्रुबेसी–टिमुरे सडकखण्डमा पहिरो खसेको छ। उक्त सडकखण्ड खुलाउने तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यका लागि नेपाली सेनाको श्रीनाथ गण खटिएको छ। सेनाले चिलिमे जलविद्युत आयोजना र रोंगापुल क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेको छ।

हालसम्म उद्धार टोलीले परिचय नखुलेका पाँच शव तथा शरीरका केही भागहरू फेला पारेको जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रहरूमा उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको सुरक्षा निकायले जानकारी दिएका छन्।

प्राकृतिक विपत्तिका कारण नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको छ भने २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा विद्युतीय सवारीसाधन  बगाएका छन्।

त्यसैगरी, धुञ्चेदेखि टिमुरे जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाँध तथा रसुवा भन्सार कार्यालयको यार्डमा समेत ठूलो क्षति पुर्‍याएको छ।