झापा— झापा र मोरङ जिल्लाबाट प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ स्थायी घर भई हाल झापाको शिवसताक्षी नगरपालिका–८ मा बसोबास गर्दै आएका २५ वर्षीय जितेन्द्र आङ्देम्बेलाई पक्राउ गरेको हो। उनलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट २५ किलो २५० ग्राम गाँजासहित भारत अररिया घर भएका २२ वर्षीय मोहमद ईर्सादलाई प्रहरीले पक्राउ गरेको छ। ईर्सादले लागू औषध बोकेको BR 38 Q 5686 नम्बरको मोटरसाइकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ। उनलाई प्रहरी चौकी अमाही बरियातीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।