काठमाडौं — जबरजस्ती करणीसहित विभिन्न आपराधिक अभियोगमा प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले आफ्नो आरोपलाई राजनीतिक र साम्प्रदायिक मोड दिने प्रयास गरेका छन्।
अज्ञात स्थानबाट हिन्दी भाषामा जारी गरिएको भिडियो वक्तव्यमा यादवले नेपालमा मधेसी समुदायमाथि शोषण भइरहेको भन्दै भारतको बिहार राज्य सरकारसँग सहयोगको अपिल गरेका छन्।
भिडियोमा उनले भनेका छन्, "नेपालमा मधेसीहरूलाई नागरिकतादेखि लिएर विभिन्न अपराधमा फसाइन्छ। मैले पनि मधेस आन्दोलनमा भाग लिएको थिएँ, त्यसकै कारण मलाई प्रहरीले टर्चर गर्यो।"
यादवले प्रहरीमाथि राति कार्यालय खोलेर कमिसन उठाउने आरोपसमेत लगाएका छन्। आफूले यो विषयमा कुरा गर्न सर्लाहीका एसपीलाई भेट्दा गाली गलौज भएको दाबी गर्दै उनले भने, "एसपीले मलाई साले भनेर गाली गर्यो। म पनि आन्दोलनकारी हुँ, त्यसैले मेरो मुखबाट पनि केही शब्द निस्किए।"
उनले भारतीय पक्षसँग नेपालका प्रहरीसँग सहयोग नगर्न अपिल गर्दै भने, "नेपाल सरकारले मलाई पक्राउ गर्न अनुरोध गरे भारतले सहयोग गर्नु हुँदैन। यो राजनीतिक मुद्दा हो। म बिहार सरकारसँग आग्रह गर्छु— म अपराधी होइन, आन्दोलनकारी हुँ।"
यादवको अभिव्यक्तिले अवस्था थप विवादास्पद बनाएको छ। उनले नेपालमा खसवादी सोच हावी भएको र मधेसीहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिने आरोप लगाउँदै भनेका छन्, "मधेस नेपालबाट अलग हुनु पर्छ। यो देशमा न्याय छैन। मधेसको अर्को पुस्ताले स्वराज ल्याउने छ।"
नेपाल प्रहरीले भने यादवमाथि लागेका अभियोगबारे अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। उनी हाल फरार छन्।




































