काठमाडौं— टिकटक लाइभ बस्ने महिलाहरूसँग मिलेर पुरुषलाई ‘फिसिङ’ गर्ने र कमिसन खाने गरेको आरोपमा एक जना युवकमाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ । ती पुरुष सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएर टोखा स्थित ग्राण्डीमा बस्ने २९ वर्षीय रमेश थापा रहेका छन्।
उनलाई असार १३ गते देखी प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । थापा असार १३ मा आफ्नो समस्या लिएर प्रहरी वृत्त बौद्धमा पुगेका थिए । उनलाई एउटा समूहले कुटपिट गरेको थियो ।
बौद्ध प्रहरीले ‘रेस्पोन्स’ नगरेको भन्दै उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगे । अनुहारमा निलडाम लिएर प्रहरीकहाँ गएका थापा आफैँ अनुसन्धानको दायरमा तानिएका हुन् ।
टिकटकबाट आउने कमिसनमा विवाद भएपछि टिकटक लाइभ बस्ने महिलाहरूका आफन्तहरूले उनलाई कुटपिट गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । तर, उनलाई कुटपिट गर्नेहरूको अहिलेसम्म पहिचान खुलेको छैन ।
टिकटकमा लाइभ बस्ने महिलाहरूलाई पुरुषहरूले स्वेच्छाले ‘क्वाइन’ हाल्ने गर्छन् । ती महिलाहरूलाई थापाले नै परिचालन गरेर सो क्वाइनबाट कमिसन लिने गरेको अनुसन्धानबाट खुलेको छ ।
सामाजिक सञ्जाल टिकटक लाइभ मार्फत अश्लीलता प्रदर्शन गर्ने र अश्लील कुराकानी गर्ने महिलाहरूबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।