काठमाडौं — काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल चेक बाउन्सको आरोपमा पक्राउ परेका एक सातामै रिहा भएका छन्। उनलाई गत असार १३ गते काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गरेको थियो।
भेटवालमाथि झन्डै १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी परेको थियो। पक्राउलगत्तै उनी स्वास्थ्य समस्या देखाउँदै अस्पताल भर्ना भएका थिए।
पक्राउपछिको प्रक्रिया अनुसार असार १५ मा अदालतले ६ दिनको म्याद थप गरेको थियो, जुन असार १९ मा सकिएको थियो। सोही दिन भेटवाललाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइए पनि स्वास्थ्यको कारण देखाउँदै अदालतले म्याद थप गर्न अस्वीकार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए।
“स्वास्थ्य समस्याको आधारमा अदालतबाट म्याद थप भएन,” एसपी बोहराले भने, “त्यसपछि प्रहरीले थप कारबाही अगाडि बढाउन सक्ने अवस्था रहेन।”
भेटवाल विरुद्ध परेको उजुरी अनुसार उनले उच्च रकमका चेक दिँदा खातामा रकम नभएको पाइएको हो। हाल उनी पुनः स्वतन्त्र अवस्थामा रहेका छन्।