काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरसम्बन्धी नक्सा पासको विषयमा आफूलाई दोषी ठहर्याउने प्रयास कपोलकल्पित र भ्रामक रहेको स्पष्ट पारेका छन्।

केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्ला दिनहरूमा आफूलाई नक्सा पाससँग जोडेर गरिएको आलोचना र चरित्र हत्या प्रयासप्रति आक्रोश व्यक्त गरे। गुरागाईंका अनुसार उनले कुनै नयाँ निर्णय गरेका छैनन्, बरु अघिल्लो प्रशासनले अघि सारेका प्रक्रिया अनुसार मात्र फाइल अनुमोदन (इन्डोर्स) गरेका हुन्।

"मैले पहिलाका निर्णयलाई मात्रै निरन्तरता दिएको हुँ। नक्सा स्वीकृत गर्ने बेलामा पनि मैले त्यो कुरा स्पष्ट उल्लेख गरेको छु," गुरागाईंले भने, “यदि नियम, कानुन र प्रक्रियाले मलाई दोषी ठहर्यायो भने म कारबाही भोग्न तयार छु। तर आधारहीन आरोप लगाउनु गलत हो।”

गुरागाईंका अनुसार काठमाडौं टावरको नक्सासम्बन्धी फाइल २०८० मंसिर २७ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले तयार पारी मेयर बालेन शाहलाई पेस गरेका थिए। सोही फाइलमा शाहले पुस २ गते पाँच लाख रुपैयाँ जरिवाना तोकेर नक्सा स्वीकृत गरेका थिए। त्यसपछि गुरागाईंले फाइलमा 'नगर प्रमुखको निर्देशन र अघिल्लो निर्णयका आधारमा नक्सा स्वीकृत गरिएको' स्पष्ट रूपमा उल्लेख गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले बजेटसँग टावरको विषय अनावश्यक रूपमा जोडिएकोप्रति असन्तुष्टि जनाउँदै भने, “म बजेट आउनुपर्छ भन्ने पक्षमा छु। नगर प्रमुख, उपमेयर र जनप्रतिनिधिका निर्णयहरूमा बाधक बन्ने मेरो कुनै उद्देश्य छैन।"

गुरागाईंले मेयर सचिवालयको हवाला दिँदै आफूलाई भ्रष्टाचारको आरोप लगाइएकामा प्रश्न उठाउँदै भने, “म भ्रष्टाचारी हुँ भन्ने निर्णय कुनै आधिकारिक निकायले नगरेसम्म कसैले तोकेको भरमा कसरी हुन्छ? यदि त्यस्तो निकायले अनुसन्धान गरिरहेको छ भने म सहयोग गर्न तयार छु।”

उनले हालसम्म आफू मेयरबारे कुनै नकारात्मक टिप्पणी नगरेको भन्दै सचिवालयको नाम लिई आरोप लगाउनु अन्यायपूर्ण भएको बताए।

प्रशासन विभागद्वारा मंसिर २७ गते तयार पारिएको फाइलमा, भवन निर्माण अवधि पाँच वर्ष रहने, निर्माण अवधि नक्सा पास मितिका आधारमा तोकिने, र ऐन २०७४ को दफा ३८, ५०, र ३५ बमोजिम प्रमुख प्रशासकीय अधिकृतबाट नक्सा स्वीकृत गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ। यिनै कानुनी आधार र प्रक्रिया अनुसार आफूले काम गरेको गुरागाईंले प्रस्ट्याएका छन्।

गुरागाईंले विगतमा समाचारमार्फत पटक–पटक आरोपको खण्डन गरिसकेको भन्दै प्रश्न उठाए, “फेरि किन मेरो चरित्रहत्या गर्न खोजिएको हो? यो राजनीति म बुझ्न सकिरहेको छैन।”