एजेन्सी  – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको न्यु जर्सीस्थित बेडमिन्स्टर गल्फ कोर्समाथिको आकाशमा आइतबार एक गैरसैन्य (नागरिक) विमान अनधिकृत रूपमा प्रवेश गरेपछि अमेरिकी वायु सुरक्षा निकायले एफ–१६ लडाकू विमान परिचालन गरेको छ।

उक्त लडाकू विमान उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमान्ड (NORAD) ले पठाएको हो। एफ–१६ ले विशेष ‘हेडबट मानेउभर’ नामक रणनीति प्रयोग गरेर नागरिक विमानका चालकको ध्यान खिचेको र त्यसपछि विमानलाई सुरक्षित रूपमा प्रतिबन्धित हवाई क्षेत्रबाहिर लैजिएको जनाइएको छ।

राष्ट्रपति ट्रम्प अहिले न्यु जर्सीमा सप्ताहान्त बिताइरहेका छन्। त्यस क्षेत्रमा सुरक्षा कारण अस्थायी उडान निषेध (TFR – टेम्पोररी फ्लाइट रेस्ट्रिक्शन) लागू गरिएको छ।

हालैका केही सातामा यस्ता हवाई क्षेत्र उल्लंघनका घटनाहरू दोहोरिरहँदा NORAD ले सबै नागरिक उड्डयन पाइलटहरूलाई उडानअघि सबै नोटिस र निर्देशनहरू ध्यानपूर्वक अध्ययन गर्न अनुरोध गरेको छ।

यसअघि, गएको मार्च महिनामा पनि ट्रम्पको फ्लोरिडास्थित निजी निवासमाथिको प्रतिबन्धित हवाई क्षेत्रमा एक सिभिलियन विमान प्रवेश गरेको थियो। त्यसबेला पनि एफ–१६ लडाकू विमानले आगोका झिल्का (फ्लेयर) प्रहार गरी विमानचालकको ध्यान खिचेको थियो।

ट्रम्पको सुरक्षा सुनिश्चित गर्न यी सबै कदमहरू चालिएको बताइएको छ। घटनाले ट्रम्पको कार्यतालिका वा सुरक्षामा कुनै प्रभाव नपरेको अधिकारीहरूले जानकारी दिएका छन्।