भोजपुर— भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ।

प्रहरीका अनुसार ३० वर्षीय राजेन्द्र राईले गए राति आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

हत्या पश्चात राजेन्द्र राईले आफैंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए। उनको पेटमा गहिरो चोट लागेको र उपचारपछि उनलाई थप उपचारका लागि बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ।

राजेन्द्र करीब एक हप्तादेखि ससुरालीमै बस्दै आएका थिए।  घरायसी विवादका कारण घटना भएको हुनसक्ने वडासदस्य जीवन जर्गा मगरको अनुमान छ । 

राजेन्द्रले गत वर्ष मनिषालाई भगाएर बिहे गरेका थिए। बिहेपछि सम्बन्ध बिग्रँदै जाँदा मनिषा माइती फर्किएकी थिइन्। एक साताअघि उनलाई लिन ससुराली गएका राजेन्द्र र परिवारबीच विवाद भएको थियो। विवादकै क्रममा उनले चारै जनाको हत्या गरेको प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए।