तनहुँ— जिल्लाको पर्यटकीयस्थल मानुङकोटमा खटिएका एक प्रहरी जवानमाथि कुटपिट भएको छ । कुटपिट घटनामा संलग्न चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
व्यास नगरपालिका–५ स्थित अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि शनिबार राति झडपका क्रममा कुटपिट भएको हो।
राति करिब २ बजे मानुङकोट क्षेत्रमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि कुटपिट भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिए । प्रहरीलाई कुटपिटमा संलग्न भएको आरोपमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेका छन्।
चारै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी थापाले जानकारी दिए।
प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।