धनुषा— धनुषाको विदेह नगरपालिका–२ गोबराही क्षेत्रमा तस्कर समूहसँग भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउन्ड अश्रुग्याँस र ४ राउन्ड हवाई फायर गरेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, गोबराही क्षेत्रमा अवैध सामान लुकाइ राखिएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीमाथि तस्कर समूहले आक्रमण गरेका थिए।

टोलीले एउटा मोटरसाइकल फेला पारेपछि नजिकै रहेको टहरोको पनि खोजतलास गर्ने क्रममा करिब डेढ सयको संख्यामा लुकेर बसेका तस्करहरूले घरेलु हतियारसहित आक्रमण गरेका थिए। ढुंगामुढा र हातहतियार प्रयोग गरिएका झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएको जनाइएको छ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका प्रहरीलाई उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ।

सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै घटनास्थलमा थप प्रहरी परिचालन गरिएको र परिस्थितिको मूल्यांकन भइरहेको अधिकारीहरूले बताएका छन्।