एजेन्सी  – इटलीको मिलान फेशन वीकमा प्राडा ब्रान्डका मोडलहरूले छालाको चप्पल लगाएर र्‍याम्पमा हिँडेपछि भारतमा विवाद चर्किएको छ।

अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (ABC) का अनुसार, ती चप्पल भारतको महाराष्ट्रस्थित प्रसिद्ध कोहलपुरी चप्पलसँग हुबहु मिल्ने भन्दै भारतीयहरू सामाजिक सञ्जालमा आक्रोशित भएका छन्।

भारत सरकारले सन् २०१९ मा कोहलपुरी चप्पललाई "भौगोलिक संकेत" (GI Tag) प्रदान गर्दै यसको उत्पत्ति कोहलपुरमै भएको आधिकारिक मान्यता दिएको थियो।

भारतको एमआईटी इन्स्टिच्युट अफ डिजाइनकी उपप्राध्यापक आर्शिया कपूरले प्राडाको चप्पललाई “सांस्कृतिक चोरी” को उदाहरण भन्दै कडा आलोचना गरेकी छन्। उनका अनुसार, "कोहलपुरी चप्पल भारतको सांस्कृतिक पहिचान हो र त्यसलाई व्यावसायिक रूपमा प्रयोग गर्नु अघि स्थानीय समुदायको श्रम र अधिकारको सम्मान हुनु पर्छ।"

प्राडाले डिजाइन गरिएको ती चप्पलको मूल्य जोडीको १२ सय अमेरिकी डलर (झण्डै १ लाख ६४ हजार रुपैयाँ) राखेको छ, जबकि वास्तविक कोहलपुरी चप्पल भारतमा मात्र १५ सय रुपैयाँमा किन्न सकिन्छ।

भारतीय जनता पार्टीका सांसद धनञ्जय महादिकले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसलाई पत्र लेख्दै यो "सांस्कृतिक र व्यापारिक चोरी" विरुद्ध कारबाही गर्न आग्रह गरेका छन्। उनले भने, “प्राडाले कोहलपुरका उत्पादनलाई मान्यता दिनुका साथै, स्थानीय उत्पादकहरूलाई आम्दानीको हिस्सा दिनुपर्छ।”

महाराष्ट्र चेम्बर अफ कमर्सले पनि प्राडाका अध्यक्ष पेत्रिजियो बर्तेलीलाई पत्र लेख्दै स्थानीय कारीगरहरूको चासोलाई सम्बोधन गर्न आग्रह गरेको छ।

प्राडाले आफ्नो प्रतिक्रिया दिँदै भनेको छ कि चप्पलहरूको डिजाइन शताब्दीयौँदेखि भारतमा चलनमा रहेका पारम्परिक शैलीबाट प्रेरित भएको हो। तर, उपप्राध्यापक कपूर भन्छिन्, "सिर्फ प्रेरणाको कुरा गरेर नहुने, स्थानीय कारीगरहरूलाई रोजगारी र सम्मानजनक पारिश्रमिक दिनु आवश्यक छ।"