वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलको राजीनामा माग गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मा पोस्ट गर्दै लेखेका छन्, "धेरै ढिला भइसक्यो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ!"
ट्रम्पले आफ्नो पहिलो कार्यकालमै पावेललाई फेडको अध्यक्ष पदमा मनोनीत गरेका थिए। तर, ब्याजदर नघटाएको भन्दै उनले पावेलको बारम्बार आलोचना गर्दै आएका छन्।
यद्यपि राष्ट्रपति ट्रम्पसँग पावेललाई पदबाट हटाउने स्पष्ट अधिकार छ कि छैन भन्ने विषय प्रस्ट छैन।
यसअघि वर्षको सुरुमा ट्रम्पले पावेललाई बर्खास्त गर्ने योजना नरहेको बताएका थिए, तर पछिल्लो अभिव्यक्तिले उनले आफ्नो धारणा फेरिएको संकेत गर्छ।
ट्रम्प फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएर आर्थिक वृद्धि प्रवर्द्धन गर्नुपर्ने पक्षमा छन्। यसै सन्दर्भमा, पावेलले मंगलबार एक अभिव्यक्तिमा भनेका थिए, “यदि ट्रम्पको ट्यारिफ नीतिले अर्थतन्त्रमा असर नपारेको भए, हामीले पहिल्यै ब्याजदर घटाइसक्थ्यौं।”






































