काठमाडौं— करार बमोजिम वस्तुको मूल्य बापतको रकम नतिरी फरार रहेका प्रतिवादी दिनेश सिलवाललाई प्रहरीले पक्राउ गरेको छ। वादी पूजा सोप एण्ड हाउसहोल्ड प्रा.लि. को तर्फबाट दायर मुद्दामा प्रतिवादीमाथि रु ३,९३,३१२।८३ (अक्षरेपी तीन लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैयाँ त्रियासी पैसा) बिगो बराबरको रकम नतिरेको आरोपमा २ वर्ष कैद सजाय तोकिएको थियो।
काठमाडौं महानगरपालिका–३४ स्थायी घर भई हाल महानगरपालिका–३१ मिलनचोकमा बस्दै आएका ५५ वर्षीय दिनेश सिलवाल फरार रहेका थिए। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१ स्थित मिलनचोकबाट पक्राउ गरेको हो।
पक्राउ पश्चात् प्रतिवादीलाई सम्मानित जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अदालतको निर्णय अनुसार उनलाई कैद सजाय कार्यान्वयनको प्रक्रिया अघि बढाउने प्रहरीको भनाइ छ ।