काठमाडौं— बैंकिङ कसूर र चेक अनादर मुद्दामा ७५ लाख रुपैयाँ बराबरको जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–४, महाराजगञ्ज बस्ने लम्जुङ जिल्ला, मध्यनेपाल नगरपालिका–७ का ५१ वर्षीय दिपेन्द्र राज घिमिरेलाई ४३ लाख ५० हजार रुपैयाँ जरिवाना भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई असार १७ गते बिहान १०ः३० बजे काठमाडौंको तीनकुनेबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।

यस्तै, चेक अनादर मुद्दामा अदालतले दुई वर्ष कैद सजाय र ३१ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–६ सरस्वती नगर बस्ने ५७ वर्षीय बुद्धिनाथ न्यौपानेलाई समेत प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले उनलाई सोही दिन सरस्वती नगरबाट पक्राउ गरी अदालतमा पेस गरेको हो।

प्रहरीका अनुसार दुवैजनालाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार थप कानुनी कारबाहीका लागि पेस गरिएको हो।