लहान— जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि मध्य रातमा आक्रमण प्रयास भएको छ। घटनास्थल सिरहाको लहान नगरपालिका–१ मा पर्ने पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा उनी माथि आक्रमण भएको हो।
मंगलबार राति करिब १२स्३० बजेको समयमा प्रदेश राजधानी जनकपुरधामबाट फर्किएकी सांसद दास लहानस्थित बस स्ट्यान्डमा ओर्लिएलगत्तै दुई जना अपरिचित युवाहरूले उनीमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेका थिए। ती युवाहरूले सांसद दासलाई लखेटेपछि भागेर ज्यान जोगाएकी थिइन्।
“भाग्दै घर पुगेर ज्यान जोगाएँ,” सांसद दासले भनिन्, “प्रदेशसभामा दलित, महिला तथा अन्यायमा परेका नागरिकको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छु। त्यसैले मेरो आवाज दबाउन षड्यन्त्रपूर्वक आक्रमणको प्रयास भएको”, उनको भनाइ छ ।”
घटनाबारे इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले जानकारी दिँदै भने, “हामीलाई खबर आएपछि तत्काल मोबाइल टोली खटाइएको छ। हाल घटनाको अनुसन्धान भइरहेको छ।”
यस घटनाले प्रदेश राजनीतिमा तरंग पैदा गरेको छ भने सांसद दासको सुरक्षामा लापरवाही भएको भन्दै सामाजिक सञ्जालमा पनि आलोचना सुरु भएको छ।