सर्लाही— जिल्लाको लालबन्दी नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु तलबविहीन भएका छन् । अनुदान अन्तर्गत नियुक्त भएका शिक्षकहरु ६ महिनादेखि तलबविहीन भएका हुन् ।
आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा समेत तलब नपाएपछि उनीहरूमा गहिरो असन्तोष र निराशा बढेको छ। सो नगरपालिका अन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा कार्यरत नगर तथा वडा अनुदान अन्तर्गत नियुक्त शिक्षकहरूले विगत ६ महिनादेखि पारिश्रमिक नलिई काम गर्न बाध्य भएका छन्।
शिक्षकहरू विद्यालयमा नियमित शिक्षण कार्यमा संलग्न रही आफ्नो जिम्मेवारी निर्वाह गरिरहे पनि तलब नपाउँदा दैनिक जीवनयापनमै समस्या परेको गुनासो गर्छन्। “हामी निरन्तर पढाइमा लागिरहेका छौँ, तर महिनौं बितिसक्दा पनि तलब पाएका छैनौं,” एक शिक्षकले नाम नखुलाउने शर्तमा बताए, “पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि आफुहरुको माग सुनुवाई नभएको उनको गुनासो छ ।”
नगरपालिका, वडा कार्यालय र शिक्षा शाखाजस्ता सम्बन्धित निकायहरूले यो समस्याप्रति बेवास्ता गरेकामा शिक्षकमात्र होइन, अभिभावक र समुदाय पनि चिन्तित बनेका छन्। यस्ता समस्या शिक्षण गुणस्तर र शैक्षिक वातावरणमै असर पुर्याउने उनीहरूको भनाइ छ।
स्थानीय तहबाट प्रदान गरिने नगर तथा वडा अनुदान अन्तर्गत नियुक्त शिक्षकहरू विद्यालयमा स्थायी शिक्षक सरह जिम्मेवारी बहन गर्दै आइरहेका छन्। तर, समयमा तलब नपाउँदा उनीहरूको मनोबल खस्किएको देखिन्छ।
यस समस्याप्रति सम्बन्धित निकायले तत्काल पहल गरेर शिक्षकको न्याय सुनिश्चित गर्न आवश्यक देखिन्छ। शिक्षा नीतिगत रूपमा प्राथमिकतामा रहेको भनिए पनि व्यवहारमा शिक्षकमाथि अन्याय भइरहनु चिन्ताको विषय बनेको छ।